हेलो अनुगमनको निष्कर्ष : नेवाका ८१ प्रतिशत आयोजनाहरू चल्दो अवस्थामा - डा.महेश्वरप्रसाद यादव

नेपाल स्वास्थ्यको लागि पानी (नेवा) को आर्थिक तथा प्राविधिक सहयोगमा समुदायमा सञ्चालित आयोजनाहरू मध्ये ८१ प्रतिशत आयोजनाहरू चल्दो अवस्थामा रहेको पाइएको छ । यही २०७९ असोजदेखि मंसिरसम्ममा सिन्धुली, बागलुङ, चितवन, धादिङ र नुवाकोट जिल्लाहरूमा ‘हेलो अनुगमन’ विधि अपनाई गरिएको ३६४ आयोजनाहरूको तथ्याङ्कको विश्लेषण गर्दा त्यस्तो नतिजा आएको हो । हेलो अनुगमन गरिएका आयोजनाहरूमध्ये २९४ आयोजनाहरू पूर्ण रूपमा संचालनमा रहेको पाइएको छ । त्यसैगरी ५२ आयोजनाहरू आंशिक रूपमा संचालनमा रहेका छन् भने १८ आयोजनाहरू चल्दो अवस्थामा नरहेको देखिन्छ ।

समयानुकल प्रविधि तथा पद्धति अवलम्बन गर्ने क्रममा, नेवाले खानेपानी आयोजनाहरूलाई चल्दो अवस्थामा राख्न र दिगो बनाउने हेतुले कार्यान्वयन पछिको अनुगमन तथा सहयोग पद्धतिलाई आत्मसात गरेको छ । नेवाले वि।सं। २०५२ देखि एक दशकसम्म हवाइपत्र अनुगमन पद्धति अवलम्बन गरेको थियो भने मोबाइल फोनको प्रयोगमा व्यापकता आएपछि वि.सं. २०७२ असोजदेखि स्थलगत अनुगमनको अतिरिक्त अभिनव संयन्त्रको रूपमा हेलो अनुगमनको प्रयोग गर्दै आइरहेको छ । जस अन्तर्गत नेवाका प्राविधिकहरूले प्रत्येक वर्ष एकपटक प्रायः वर्षा यामपछि मर्मत कार्यकर्ताहरू र उपभोक्ता समितिलाई फोन गरेर पुरानो आयोजनाहरूको अवस्था बारे जानकारी लिने गर्छन् ।

हेलो अनुगमन अन्तर्गत मर्मत कार्यकर्ताबाट सबै धाराहरूको अन्तिम भ्रमण, धाराहरूको चल्दो अवस्था, समस्या भएका धाराहरूको विस्तृत जानकारी, समाधान गर्न कति समय लाग्छ, समाधान गर्न नसक्ने भए त्यसको कारण के हो, जगेडा सामग्रीहरूको जाँच, समितिले मर्मत कार्यकर्तालाई नियमित रूपमा भुक्तानी गरिरहेको छ वा छैन भन्ने बारे जानकारी संकलन गरिन्छ ।

उपभोक्ता समितिबाट मर्मत सम्भार कोषको संकलन, कुल मर्मत सम्भार कोष, समितिको बैठकहरूको नियमितता, जगेडा सामग्रीहरू बारेमा जानकारी संकलन गरिन्छ । त्यसैगरी, समस्याहरू समाधान गर्ने समय, समाधानका लागि कसले खर्च गर्यो, समस्या समाधानका लागि प्रयोग गरिएको ठाउँमा जगेडा सामग्रीहरूको प्रतिस्थापन र स्थानीय बजार वा जिल्ला सदरमुकाममा जगेडा सामग्रीहरूको उपलब्धता भएको वा नभएको जानकारी समेत उपभोक्ता समितिबाट संकलन गरिन्छ ।

यसै क्रममा, च्यारिटी वाटर अमेरिकाको सहयोगमा वि.सं. २०६७ देखि २०७९ आषाढ सम्ममा निर्माण गरिएको आयोजनाहरूको हेलो अनुगमन गरिएको हो । तदानुसार, सिन्धुलीको २५२ आयोजना, बागलुङको ८३ आयोजना, चितवनको २६ आयोजना, धादिङको दुई आयोजना र नुवाकोटको एक आयोजना गरी कुल ३६४ आयोजनाहरूको हेलो अनुगमन गरिएको हो।


हेलो अनुगमन गरिएका ३६४ आयोजनाहरूमध्ये ८१ प्रतिशत आयोजनाहरू पूर्ण रूपमा संचालनमा छन् । त्यसैगरी, १४ प्रतिशत आयोजनाहरू आंशिक रूपमा संचालनमा छन् भने पाँच प्रतिशत आयोजनाहरू चल्दो अवस्थामा नरहेको देखिन्छ । गत वर्षको हेलो अनुगमन अनुसार ८६ प्रतिशत आयोजनाहरू पूर्ण रूपमा संचालनमा रहेको थियो भने यस वर्ष पाँच प्रतिशतले घटेको देखिन्छ । तसर्थ, नेवाद्वारा अंशिक रूपमा संचालनमा रहेका वा चल्दो अवस्था नरहेका आयोजनाहरूमा पहिचान गरिएका समस्याहरूको आधारमा योजना बनाई कार्यान्वयन गरेर पूर्ण रूपमा संचालनमा ल्याउने प्रयास गर्नु पर्ने देखिन्छ ।

हेलो अनुगमन मार्फत आयोजनाहरूमा पहिचान गरिएका समस्याहरूको आधारमा नेवाका प्राविधिकहरूले मर्मत कार्यकर्तालाई समस्याहरू समाधान गर्न फोन मार्फत प्रशिक्षण दिन्छन् ।

यदि समस्या तिनीहरूको क्षमता भन्दा बाहिरको छ भने नेवाका प्राविधिकहरूले समस्या समाधान गर्न सम्बन्धित आयोजनाको स्थलगत भ्रमण गरी मर्मत सहायता प्रदान गर्छन् । यदि त्यहाँ ठूलो क्षतिहरू भएको छ र पुनःस्थापना आवश्यक छ भने नेवाका प्राविधिकहरूले सर्वेक्षण गरी आयोजनाको पुनःस्थापनाका लागि योजना तयार गरी कार्यान्वयन गरिन्छ ।

यस पद्धतिबाट छोटो समयमा धेरै आयोजनाहरूको अनुगमन गर्न सकिने भएकोले लागत कम लाग्छ । त्यसले गर्दा यो अनुगमन पद्धति उपयोगी साबित हुनुका साथै यसको निरन्तर प्रयोग भइरहेको छ । नेपालको कतिपय स्थानमा खानेपानी आयोजनाहरू सम्पन्न भएको केही समयपछि नै रुग्ण हुँदै जाने प्रवृत्ति छ । जसले गर्दा नेपालमा हालसम्म निर्माण भएका खानेपानी आयोजनाहरू मध्ये २८ प्रतिशत मात्रै पूर्ण रूपमा सञ्चालनमा रहेको सरकारी तथ्याङ्क छ । यस तथ्यलाई हृदयङ्गम गरेर खानेपानी आयोजनाहरूलाई दीर्घकालसम्म चल्दो राख्न कार्यान्वयन पछिको अनुगमन तथा सहयोग पद्धति अपनाउनु उपयोगी हुने देखिन्छ ।

लेखक नेपाल स्वास्थ्यको लागि पानीको योजना, अनुगमन तथा रिपोटिंग प्रबन्धक हुनुहुन्छ ।

समाचार सौजन्य  : https://washkhabar.com/np/2023/02/01/29006