घरायसी पानी असुरक्षा अनुभव स्केलः एक अनुपम अनुगमन विधि - डा. महेश्वर प्रसाद यादव / निलम यादव

पानी जीवन हो, किनभने पानी बिना जीवको अस्तित्व सम्भव छैन । पानीले मानिसको जीवनमा बहुआयमिक प्रभाव पारेको हुन्छ । मानव स्वास्थ्य मात्र होइन, मानिसका सांस्कृतिक पक्षहरू पनि पानीसँग गहिरोगरी गाँसिएका हुन्छन् । पानीको पर्याप्त उपलब्धताले जीवन सहज बनाउँछ भने पानी उपलब्ध नहुँदा वा अभावको संभावना वा आंकलनले हामीमा नकारात्मक प्रभाव पर्दछ । यस्ता प्रभावहरूले मानिसलाई पानीको असुरक्षा अनुभव गराउँछन् । यस्तो असुरक्षा अनुभवलाई मापन गर्न घरायसी पानी असुरक्षा अनुभव (Household Water Insecurity Experiences, HWISE) स्केलप्रतिपादन गरिएको छ ।

नर्थवेस्टर्न विश्वविद्यालय, अमेरिकाको एक अनुसन्धान समूहले यो सिद्धान्त प्रतिपादन गरेको हो । यो स्केल प्रतिस्पर्धात्मक अनुसन्धान अनुदानको सहयोगमा विकास गरिएको हो । बेलायत सरकारको युके एड सहयोग अन्तर्गत कृषि र पोषण पहलहरूका लागि अभिनव विधिहरू तथा मेट्रिक्स (Innovative Methods and Metrics for Agriculture and Nutrition Actions, IMMANA) विकास गर्न अनुसन्धान अनुदान प्रादान गरी यसको विकास गरिएको हो । त्यसैगरी, एचवाइज् अनुसन्धान समन्वय संजाललाई राष्ट्रिय विज्ञान फाउन्डेसनले समेत सहयोग गर्दै आएको छ । यो स्केल सार्वजनिक रूपमा उपलब्ध छ । अनुदान सहयोगबाट विकास गरिएकोले यसलाई निःशुल्क प्रयोग गर्न पाइन्छ ।

Accordion summary...

Accordion body...

घरायसी पानी असुरक्षा भनेको किफायती र विश्वसनीय रुपले, पर्याप्त मात्रामा वा निश्चित रूपमा पानीको उपलब्ध नहुनु, उपलब्ध परिमाण घट्नु वा त्यस्तो हुने अवस्था देखा पर्नुलाई बुझाउँछ ।  जसले मानिसको शारीरिक, मानसिक स्वास्थ्य एवं उत्पादकत्व, सामाजिक तथा सांस्कृतिक गतिविधिहरू जस्ता आवश्यक कार्यहरू गर्ने क्षमताहरूलाई असर पार्दछ ।

एचवाइज् स्केलमा १२ वटा विधा अन्तर्गत असुरक्षा अनुभवलाई मापन गर्ने गरिन्छ । ती विधाहरूमा चिन्ता, अवरोध, लुगाफाटो, योजना, खाना, हात, शरीर, पिउनु, रिस, निद्रा, अपर्याप्त, र लाजसँग सम्बन्धित असुरक्षा अनुभवहरू रहेका छन् । प्रत्येक विधा अन्तर्गत पछिल्लो चार हप्तामा घरपरिवारका जो कोहीले भोगेका अनुभवहरूलाई समेट्नका लागि प्रश्नहरू दिइएको छ । जस अन्तर्गत असुरक्षा अनुभवको मापन पाँच तहमा गरिन्छ । ती तहहरूमा कहिल्यै छैन (० पटक), बिरलै (-२ पटक), कहिलेकाहीँ (-१० पटक), प्रायः (११-२० पटक), र सधैं (२० पटक भन्दा बढी) पर्दछन् ।

चिन्ता (Worry): पछिल्ला चार हप्ताहरूमा, तपाईँ वा तपाईँको घरपरिवारका कसैलाई तपाईँको सबै घरायसी आवश्यकताहरूका लागि पर्याप्त पानी नहोला भनेर कत्तिको चिन्ता गर्नुभयो? यस अन्तर्गत घरायसी आवश्यकताहरूमा लुगा धुने, आफैं वा तपाईंका बालबच्चाहरूलाई नुहाउने, जनावरहरूलाई पानी खुवाउने लगायतका विषय समेटिएको हुन्छ ।

अवरोध (Interrupt): पछिल्ला चार हप्ताहरूमा, तपाईंको मुख्य पानीको स्रोत कति पटक अवरूद्ध भएको छ वा कम पानी आएको छ? पानीको स्रोत अवरूद्ध हुनु भनेको पानी चाप कम हुनु, सोचेभन्दा कम पानी आउनु, मुहान वा खोला सुक्खा हुनु आदि पर्दछ । यस्तो अवरोध प्राविधिक वा व्यवास्थापकीय कारणले हुन सक्छ । पानी आपूर्तिकर्ताले नै पनि कुनै कारणले खानेपानी आपूर्ति बन्द गरेको हुनसक्छ । खडेरी वा सुख्खाले गर्दा भण्डारण ट्याङ्कीमा पानी उपलब्ध नभएर अवरूद्ध हुन सक्छ ।

लुगा (Clothes): पछिल्ला चार हप्ताहरूमा कति पटक पानीको समस्याले तपाईँले लुगा धुन सक्नु भएन? यो प्रश्नले लुगा धुने पानीलाई मात्र बुझाउँछ । लुगा धुने पानी घर भित्र उपलब्ध हुन सक्छ वा बाहिर धारा या खोलाबाट उपलब्ध हुन सक्छ ।

योजना (Plans): पछिल्ला चार हप्ताहरूमा, तपाईँ वा तपाईँको घरको कसैले पानीको समस्याको कारणले समयतालिका वा योजनाहरू कति पटक परिवर्तन गर्नुपर्‍यो? यस अन्तर्गत अवरोध हुन सक्ने गतिविधिहरूमा अरूको हेरचाह, घरायसी कामहरू, कृषि कार्य, आय-आर्जन गर्ने गतिविधिहरू, सुत्ने आदि समावेश छन् । यस अन्तर्गत भेटघाटको योजना परिवर्तन गर्नु परेको हुन सक्छ । पानी संकलन गर्न राती राती पानीको मुहानसम्म धाउनु पर्ने पनि हुन सक्छ ।

खाना (Food): पछिल्ला चार हप्ताहरूमा, पानीको समस्याले खानेकुरा धोईपखाली गर्न तथा पकाउने आदिको कारणले गर्दा तपाईंले वा तपाईंको घरपरिवारका कसैले खानेकुरालाई कति पटक परिवर्तन गर्नुपर्‍यो ? जस्तो कि, सागपात उपलब्ध भए पनि त्यसलाई राम्ररी धोईपखाली गर्ने पानी नहुँदा त्यसको साटो आलुको तरकारीले काम चलाउनु पर्‍यो कि ? यो प्रश्नले खाना पकाउन वा खाना बनाउन प्रयोग हुने पानीलाई मात्र बुझाउँछ । यस प्रश्नको अर्थ तपाईको घरपरिवारले खानेकुरा नै परिवर्तन गरेको हुन सक्छ किनभने त्यहाँ मनपर्ने खानेकुरा, सागसब्जी आदि धोईपखाली गर्न, तयार पार्न वा पकाउन पर्याप्त पानी नभएको अवस्था हुनसक्छ ।

हात (Hands): पछिल्ला चार हप्ताहरूमा, पानीको समस्याका कारण तपाईं वा तपाईंको घरका कसैलाई फोहोर गतिविधिहरू (जस्तै, शौच गर्ने (दिसा पिसाब) वा डायपर फेर्न, वस्तुभाउको गोबर सफा गर्ने) पछि हात नधोइकन कति पटक जानु परेको छ? यो प्रश्नले हात धुने पानीलाई बुझाउँछ । कहिलेकाहीँ तपाईले फोहोर/अस्वच्छ गतिविधिहरू जस्तै डायपर बदल्नु, शौचालय प्रयोग गर्नु, भित्ता वा भुइँमा माटो वा गोबर धुनु पर्ने हुन सक्छ । जनावरहरूको हेरचाह गर्न र तपाईंसँग आफ्नो हात धुन पर्याप्त पानी नहुन सक्छ ।

शरीर (Body): पछिल्ला चार हप्ताहरूमा, पानीको समस्या (जस्तै, पर्याप्त पानी नभएको, फोहोर, असुरक्षित) को कारणले गर्दा तपाईं वा तपाईंको घरका कसैलाई कति पटक नुहाईधुवाई नगरी काममा जानुपरेको छ? यो प्रश्नले नुहाउनका लागि पर्याप्त पानी नभएको कारण घरमा जो कोहीले नुहाउन नसक्नेलाई जनाउँछ । कहिलेकाहीँ घरका सदस्यहरूलाई नुहाउन आवश्यक छ, तर त्यसो गर्न पर्याप्त सफा पानी छैन । वा, परिवारका केही सदस्यहरूलाई नुहाउन पर्याप्त पानी हुन सक्छ तर अरूलाई छैन ।

पिउनु (Drink): पछिल्ला चार हप्तामा कति पटक तपाईँ  र तपाईँको परिवारका अरु सदस्यले पर्याप्त पिउने पानीको अभाव झेल्नु परेको छ ? यो प्रश्नले तपाईको घरमा पिउने पानीलाई बुझाउँछ । कतिपय ठाउँहरूमा सबैले आफूले चाहे जति पिउने पानी सधैं उपलब्ध हुँदैन । वा, त्यहाँ केही मानिसहरूका लागि पिउने पानी हुन सक्छ, तर अरूलाई उपलब्ध  हुँदैन ।

रिस (Angry): पछिल्ला चार हप्तामा, तपाईँ वा तपाईँको घरको कसैलाई पानीको पर्याप्त उपलब्धता नभएको कारणले कति पटक रिस उठ्यो? यो प्रश्नले पानीको कारणले तपाईंले महसुस गर्नुहुने रिस, झर्कोफर्को वा अन्य नकारात्मक भावनाहरूलाई जनाउँछ । तपाईको पानीको अवस्थाबाट, हामीले तपाईलाई कसरी पानी पाउनु हुन्छ, पर्याप्त पानी नभएको, तपाईले मनपर्ने प्रकारको पानी पर्याप्त नहुनु, पानीको गुणस्तरको बारेमा चिन्तित हुनु, जीवन र तालिकालाई असर गर्ने पानीको समस्या, र यससँग सम्बन्धित अन्य समस्याहरूले तपाईंलाई रिस उठाउन सक्छ ।

निद्रा (Sleep): पछिल्ला चार हप्तामा, पिउनको लागि पानी नभएको कारण तपाईं वा तपाईंको घरका कोही कति पटक तिर्खाएरै सुत्नु भएको छ? यो प्रश्नले तपाईको घरमा पिउनको लागि पर्याप्त पानी नभएको र तपाई सुत्न जाँदा तिर्खा लाग्नुलाई बुझाउँछ । घरका अन्य सदस्यहरूका लागि बचत गरिरहेकोले पानी नपिईकन सुत्ने गरेका छन्, वा उपलब्ध पानी पिउनका लागि उपयुक्त छैन ।

अपर्याप्त (None): पछिल्ला चार हप्तामा, तपाईको घरमा कति पटक प्रयोगयोग्य वा पिउन योग्य पानी आएको/भएको छैन? यो प्रश्नले तपाईंको घरमा कुनै पनि पानी नभएको जनाउँछ जुन घरायसी काम वा पिउनका लागि प्रयोग गर्न सकियोस् । उदाहरणका लागि, केही स्थानहरूमा मानिसहरूसँग पर्याप्त पानी भण्डार गर्ने भाँडाकुँडा वा ठाउँ उपलब्ध छैन वा तत्कालका र पछिका आवश्यकताहरूका लागि भण्डारण गर्न पर्याप्त पानी प्राप्त गर्न असमर्थ छन् । अन्य ठाउँहरूमा, पानी घरमा बढी हुन सक्छ, तर घरमा उपलब्ध कुनै पनि पानी पिउन, धुने, खाना पकाउन, वा अन्य गतिविधिहरूमा उपयोगी नहुन सक्छ ।

लाज (Shame): छिल्ला चार हप्ताहरूमा, कति पटक पानीको समस्याले तपाईंलाई वा तपाईंको घरका कसैलाई लज्जित/अफ्ट्यारो महसुस गरेको छ? घरमा आएका पहुनाहरूलाई पर्याप्त पानी उपलब्ध गराउन नसक्दा वा कसैले पानी माग्दा दिन नसक्दा लज्जित महसुस गर्नु पर्ने हुन्छ ।

एचवाइज् स्केलको प्रयोग कागजी फारम वा मोबाइलमा आधारित सर्वेक्षणहरूबाट गर्न सकिन्छ । एउटा फारम भर्न ३-५ मिनेट लाग्छ । एचवाइज् स्केल स्कोर ०-३६ सम्म हुन्छ भने उच्च अंकले पानी असुरक्षा धेरै भएको संकेत गर्दछ । यदि एक सहभागीले "थाहा छैन" भनेर जवाफ दियो भने घरपरिवारको स्केल मापन गर्न सकिदैन ।

पानी असुरक्षा थाहा पाउन एउटा निश्चित विन्दु तय गरिएको छ । जस अनुसार १२ वा सो भन्दा माथि एचवाइज् स्केलको स्कोर भएकाहरूलाई पानीको लागि असुरक्षित घरपरिवारहरू मानिन्छ । त्यसैगरि, ११ वा सो भन्दा कम स्कोर हुनेहरूलाई पानीको लागि सुरक्षित घरपरिवारहरू मानिन्छ ।

यसको अतिरिक्त, पानीको लागि असुरक्षित घरपरिवारको अनुपात एचवाइज् स्केलको स्कोर १२ वा सो भन्दा बढी भाएका घरपरिवारहरूलाई कुल घरपरिवारहरूको संख्याले भाग गरेर निकाल्न सकिन्छ । यस अनुपातको आधारमा समुदायको पानी असुरक्षा मापन गर्न एवं तुलनात्मक अध्ययन गर्न सकिन्छ ।

विभिन्न अध्ययनहरूले एचवाइज् स्केलको विकास र प्रमाणीकरण गरेका छन् । यसै क्रममा, सेरा एल यंग लगायतको समूहले २३ कम तथा मध्यम आय भएका देशहरूका २८ साइटबाट ८,१२७ घरपरिवारको तथ्यांक संकलन गरेर एक अध्ययन गरी घरायसी पानी असुरक्षा अनुभव स्केलको प्रमाणीकरण गरेकाछन् । यस अध्ययनका अनुसार यस स्केलले विभिन्न सांस्कृतिक समूहहरू तथा विभिन्न पारिस्थितिजन्य अवस्थाहरूमा समेत, जहाँ पानीको असुरक्षा थियो, एउटै खाले परिणाम दिएको थियो । जसले यसलाई थप प्रमाणीकरण गरेको हो ।

त्यसैगरी जस्टिन स्टोलर लगायतको समूहले २२ देशका २७ स्थानबाट तथ्यांक संकलन गरी गरेको अध्ययनको नतिजाले एचवाइज् स्केललाई अनुगमनको उपयोगी उपकरण रूपमा प्रस्तुत गरेको छ । यसले दिगो विकास लक्ष्य ६ 'सबैका लागि स्वच्छ खानेपानी र सरसफाइ' अन्तर्गत हासिल गरेको प्रगतिलाई ट्र्याक गर्न पनि मद्दत गर्न सक्छ । एचवाइज् स्केलको यो पहिलो कार्यान्वयनबाट प्राप्त नतिजाले समुदाय भित्र वा समुदायहरू बीचमा पानी असुरक्षाको विविधता रहेको देखाउँछ ।

एचवाइज् स्केलले पानी असुरक्षाको लागि जोखिममा रहेको जनसंख्या पहिचान गर्न सकिन्छ । पानी असुरक्षाका कारणहरू र परिणामहरू पत्ता लगाउन सकिन्छ । समयानुसार घरायसी पानी असुरक्षाका प्रचलनहरू जानकारी लिन सकिन्छ । पानीको नीति र कार्यक्रमको प्रभावको अनुगमन तथा मूल्याङ्कन गर्न सकिन्छ । नेपालको सन्दर्भमा नेपाल स्वास्थ्यको लागि पानी (नेवा) र हेल्भेटास् नेपालले एचवाइज् स्केलको प्रयोग गरिरहेका छन् भने अन्य संघ संस्थाहरूले समेत चासो दिने गरेको पाइन्छ ।

निष्कर्षमा, घरायसी पानी असुरक्षा अनुभव स्केल विकासित र कम विकासित दुबै खाले देशहरूका लागि उपयोगी रहेको देखिन्छ । त्यसैगरि, पानी असुरक्षा मापन गर्न विविधतापूर्ण समुदायको लागि समेत यो स्केल उपयोगी हुने देखिन्छ । यो स्केलले काठमाडौं जस्ता ठूला शहरहरु देखि दुरदराजका दुर्गम वस्तीहरुको घरायसी पानी असुरक्षा अनुभव मापन गर्न सकिन्छ ।

समाचार सौजन्य  : https://washkhabar.com/np/2024/09/21/39008