समुदायमा सुरक्षित खानेपानीको नयाँ अभ्यास : ‘वाटर एटिएम’ बाट घरदैलोमै सुरक्षित पानी

बिहानको ठीक ६ बजेको छ । महालक्ष्मी नगरपालिका–७, चाङ्गाथलीस्थित खानेपानी कार्यालय परिसरमा चौबिसै घण्टा सञ्चालन हुने ‘वाटर एटिएम’मा पानी भर्न आउनेहरूको चहलपहल सुरु भइसकेको छ । स्थानीय बासिन्दा सञ्जु कार्की आफ्नो वाटर एटिएम कार्ड मेसिनमा स्क्यान गर्नुहुन्छ ।

लगत्तै धाराबाट उहाँको भाँडामा ठ्याक्कै २० लिटर पानी भरिन्छ र धारो आफैँ बन्द हुन्छ । पानी शुद्धिकरण प्रणालीका उपकरणहरुमा प्रवेश हुनु अघि पिउन अयोग्य मानिएको यहाँको भूमिगत पानी अहिले अत्याधुनिक शुद्धिकरण प्रणाली मार्फत सुरक्षित बनेर उपभोक्ताको भाँडासम्म पुगिरहेको छ ।

सञ्जु कार्की

पानी भरिसकेपछि मुस्कुराउँदै सञ्जु भन्नुहुन्छ, “मेसिनले एकपटकमा जम्मा दस रुपैयाँ मात्रै काट्छ, तर पानीको गुणस्तर निकै राम्रो छ । पहिले वडा कार्यालयले पानी उपलब्ध गराए पनि सिधै पिउन मिल्दैनथ्यो । पिउने पानीका लागि जार वा ट्याङ्करकै भर पर्नुपर्थ्यो । जारको पानी त यो भन्दा पाँच गुना महँगो पनि थियो र गुणस्तरमा पनि ढुक्क हुन सकिँदैनथ्यो । यही ठाउँमा, यति सस्तोमा यति राम्रो पानी पाइएला भन्ने त हामीले सोचेका पनि थिएनौँ ।”

चाङ्गाथलीको यो परिवर्तन कुनै एक दिनको उपलब्धि होइन । यो पालिका, समुदाय, खानेपानी उपभोक्ता समिति र विकास साझेदार संस्थाहरूको वर्षौँदेखिको निरन्तर सहकार्यको परिणाम हो ।

नेवाका प्रमुख कार्यकारी अधिकृत डा. महेश्वरप्रसाद यादवका अनुसार, “यो शुल्कको उद्देश्य नाफा कमाउनु होइन । यसले उपभोक्तामा आयोजनाप्रति स्वामित्वभाव विकास गर्छ र प्रणालीको सञ्चालन तथा मर्मतसम्भारमा पनि सहयोग पुर्‍याउँछ ।”

महालक्ष्मी नगरपालिका–७ का वडा अध्यक्ष तथा खानेपानी उपभोक्ता समितिका पूर्वअध्यक्ष बाबुराजा महर्जनका अनुसार आजको अवस्था सहजै प्राप्त भएको होइन । “हामीले यहाँसम्म पुग्न धेरै संघर्ष गरेका छौँ । सुरुका दिनमा न बजेट थियो, न आवश्यक सामग्री । नागरिक अगुवा र स्थानीय बासिन्दाको सक्रियतामा महायज्ञ आयोजना गरेर स्रोत जुटायौँ । त्यही रकमबाट १४ आना जग्गा किन्यौँ र त्यहीँबाट खानेपानी व्यवस्थापनको आधार तयार भयो,” उहाँ सम्झनुहुन्छ ।

उहाँका अनुसार एघार वर्षअघि स्थानीयको सहयोगमा जग्गा खरिद गरी बोरिङमार्फत घरघरमा पानी पुर्‍याउने व्यवस्था मिलाइए पनि सबैभन्दा ठूलो चुनौती पानीको गुणस्तर नै थियो । “घरघरमा पानी पुर्‍यायौँ, तर त्यसलाई सुरक्षित बनाएर पिउन मिल्ने बनाउने प्रविधि थिएन । त्यसैले पाँच–छ वर्षअघिदेखि पानी शुद्धिकरणको दिगो उपाय खोज्न थालेका थियौँ,” उहाँले भन्नुभयो ।

युगौंसम्म पोखरीका रुपमा रहेको काठमाडौं उपत्यकाका अधिकांश स्थानको भूमिगत पानीमा प्राकृतिक रूपमा एमोनिया, आइरन, फ्लोराइड, आर्सेनिकलगायत मानव स्वास्थ्यका लागि हानिकारक तत्व राष्ट्रिय मापदण्डभन्दा बढी मात्रामा हुन सक्ने वास्तविकतासँग चाङ्गाथली अलग रहने कुरा भएन । उता मेलम्चीको पानी निकट भविष्यमै उपलब्ध हुने सम्भावना पनि कमजोर देखिएपछि स्थानीय स्रोतकै वैज्ञानिक र सुरक्षित उपयोग गर्ने विकल्प रोजियो ।

नेवासँगको सहकार्यले साकार भएको सपना

दिनप्रतिदिन गम्भीर बन्दै गएको खानेपानी समस्याको दीर्घकालीन समाधान खोज्ने क्रममा वडा कार्यालय र खानेपानी उपभोक्ता समितिले विभिन्न विकल्पको अध्ययन गरे । यही क्रममा नेवासँग सहकार्य सुरु भयो । खानेपानी शुद्धिकरण तथा सामुदायिक विकासका क्षेत्रमा अनुभव हासिल गरेको भारतको हैदराबादस्थित बाला विकासासँग प्राविधिक सहकार्य गरियो । त्यसपछि नेवा र बाला विकासाले संयुक्त रूपमा सोपार बाला विकासा क्यानाडा समक्ष प्रस्ताव पेश गरे ।

यस सहकार्य अन्तर्गत ललितपुरको चाङ्गाथली, सिन्धुलीको कमलामाई नगरपालिका–६ स्थित गौमती माध्यमिक विद्यालय र सिरहाको कर्जन्हा नगरपालिका–६, बडहरा समुदायमा समुदायमा आधारित खानेपानी शुद्धिकरण प्रणाली स्थापना गरियो । रिभर्स अस्मोसिस (RO) प्रविधिमा आधारित यस प्रणालीले पानीमा रहेका एमोनिया, आइरन, फ्लोराइड, आर्सेनिक, नाइट्रेटलगायत स्वास्थ्यका लागि हानिकारक तत्व हटाउँछ । परियोजनाको डिजाइन, प्रविधि छनोट तथा सञ्चालन मोडेल विकासमा नेवा र बाला विकासाको प्राविधिक सहयोग महत्त्वपूर्ण रह्यो ।

स्थानीय वासिन्दाहरु वाटर एटिएमबाट पानी भर्दै

नेवाका परियोजना प्रबन्धक ई. सञ्जीवकुमार थापाका अनुसार, “एक घण्टामा दुई हजार लिटर पानी शुद्धिकरण गर्ने यो संयन्त्रबाट उत्पादन हुने पानी नेपालको राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड अनुरूपको छ ।”

शुद्धिकरण प्रक्रियामा पानीमा रहेका एमोनिया, आइरन, फ्लोराइड, आर्सेनिक र नाइट्रेटजस्ता हानिकारक तत्व हटाइन्छ । साथै, प्राकृतिक रूपमा रहेका उपयोगी खनिजहरूको सन्तुलन पनि कायम राखिन्छ । टोटल डिजल्भ्ड सोलिड्स (Total Dissolved Solids–TDS) लाई राष्ट्रिय मापदण्डको स्वीकार्य सीमाभित्र राख्ने गरी प्रणाली सञ्चालन गरिएकाले पानीको स्वाद, गुणस्तर र स्वास्थ्य सुरक्षाबीच सन्तुलन कायम भएको छ । यसको नियमित अनुगमन खानेपानी उपभोक्ता समितिका प्राविधिक कर्मचारीहरूले गर्ने गरेका छन् ।

वडाध्यक्ष बाबुराजा महर्जनका अनुसार यसअघि पनि विभिन्न प्रकारका फिल्टर प्रयोग गरेर पानी शुद्ध बनाउने प्रयास गरिएको थियो । तर ती प्रयास अपेक्षाअनुरूप सफल हुन सकेनन् । “त्यसबेला करिब ४० प्रतिशत पानी खेर जान्थ्यो, लागत पनि धेरै हुन्थ्यो र गुणस्तर पनि सन्तोषजनक थिएन । घरघरमा आरओ फिल्टर जडान गर्नु सबै नागरिकका लागि सम्भव पनि थिएन । त्यसैले सबैले समान रूपमा लाभ लिन सक्ने सामुदायिक प्रणाली विकास गर्ने सोचबाट ‘वाटर एटिएम’को अवधारणा अघि बढाइएको हो,” उहाँ भन्नुहुन्छ ।

वडाध्यक्ष बाबुराजा महर्जन सुरक्षित पानी सेवन गर्दै

स्मार्ट वितरण प्रणाली : नवप्रवर्तनको उदाहरण

यस प्रणालीको अर्को विशेषता यसको स्मार्ट वितरण प्रणाली हो । ‘वाटर एटिएम’ कार्ड मार्फत उपभोक्ताले आवश्यक परिमाणमा सुरक्षित पानी लिन सक्छन् । प्रत्येक पटक न्यून शुल्क लिइने भएकाले प्रणालीको नियमित सञ्चालन र मर्मतसम्भारका लागि आवश्यक स्रोत जुटाउन पनि सहज भएको छ ।

नेवाका प्रमुख कार्यकारी अधिकृत डा. महेश्वरप्रसाद यादवका अनुसार, “यो शुल्कको उद्देश्य नाफा कमाउनु होइन । यसले उपभोक्तामा आयोजनाप्रति स्वामित्वभाव विकास गर्छ र प्रणालीको सञ्चालन तथा मर्मतसम्भारमा पनि सहयोग पुर्‍याउँछ ।”
यसै सन्दर्भमा वडाध्यक्ष महर्जन थप स्पष्ट पार्नुहुन्छ, “हामीले पानी बेच्ने व्यवसाय गर्न खोजेका होइनौँ । हाम्रो उद्देश्य आफ्नै उपभोक्तालाई सुरक्षित र गुणस्तरीय पिउने पानी उपलब्ध गराउनु मात्र हो ।”

यस प्रणालीको सफलताको अर्को आधार समुदायको प्रत्यक्ष सहभागिता हो । परियोजनाको सुरुदेखि नै स्थानीय खानेपानी उपभोक्ता समितिलाई सञ्चालन, मर्मतसम्भार, लेखा व्यवस्थापन र अनुगमनको जिम्मेवारी दिइएको छ । यसले बाह्य सहयोगमा निर्भरता घटाउँदै समुदायमै आधारित दिगो व्यवस्थापनको आधार तयार गरेको छ ।

बाला विकासाका कार्यकारी निर्देशक शौर्य रेड्डीका अनुसार, समुदायलाई सुरुदेखि नै जिम्मेवारी दिइएकाले उपभोक्तामा “यो आयोजना हाम्रो हो” भन्ने स्वामित्वभाव विकास भएको छ, जसले यसको दीर्घकालीन दिगोपन सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ ।

यस परियोजनाले खानेपानी शुद्धिकरण प्रणाली स्थापना मात्र गरेको छैन, स्थानीय बासिन्दाको दैनिकीमा पनि सकारात्मक परिवर्तन ल्याएको छ । पहिले जार र ट्याङ्करको पानीमा निर्भर रहनुपर्ने अवस्था क्रमशः अन्त्य हुँदै गएको छ ।

पानी शुद्धिकरण संयन्त्र

प्रविधिको उपयोगसँगै सरसफाइ र सुरक्षित पानीको अभ्यास

खानेपानी शुद्धिकरण प्रणाली स्थापना गरेर मात्र दिगो परिणाम हासिल नहुने भएकाले नेवाले समुदायमा क्षमता विकासलाई पनि उत्तिकै महत्त्व दिएको छ । हाल स्थानीय बासिन्दालाई प्रणालीको सञ्चालन, रेखदेख तथा मर्मतसम्भारका साथै धारादेखि मुखसम्म खानेपानी सुरक्षित राख्ने विधिबारे नियमित तालिम दिइँदै आएको छ ।

नेवाकी सामुदायिक सहजकर्ता वसुन्धरा घर्ती भन्नुहुन्छ, “हामी उपभोक्तालाई एटिएम कार्ड वितरण गर्ने, कार्ड प्रयोग गर्ने तरिका सिकाउने र सुरक्षित पानीको सही प्रयोगबारे जानकारी दिने काम सँगसँगै गरिरहेका छौँ । समुदायले अहिले सुरक्षित पानीको महत्त्व बुझ्न थालेको छ, त्यसैले यहाँ खुसीको वातावरण देख्न सकिन्छ ।”

उहाँका अनुसार परियोजनाको उद्देश्य सुरक्षित पानी उपलब्ध गराउनु मात्र होइन, त्यसको सही प्रयोग गर्ने बानीको पनि विकास गर्नु हो । त्यसैले प्राविधिक प्रणालीसँगै व्यवहार परिवर्तनका कार्यक्रमलाई पनि समान प्राथमिकता दिइएको छ ।

भविष्यका लागि अहिलेदेखिको तयारी

चाङ्गाथलीमा जनसंख्या र खानेपानीको माग दुवै निरन्तर बढिरहेका छन् । खानेपानी उपभोक्ता समितिका अध्यक्ष रामकृष्ण बस्नेतका अनुसार हाल वडाका करिब १२ सय घरपरिवारमध्ये अझै करिब तीन सय परिवारले धारा पाएका छैनन् । अहिलेको भण्डारण क्षमता पनि भविष्यको माग धान्न पर्याप्त छैन ।

उहाँका अनुसार यसै आर्थिक वर्षपछि नयाँ आयोजना सुरु गर्ने तयारी भइरहेको छ । “संघीय सरकारले यस वर्ष पनि दुई करोड रुपैयाँ विनियोजन गरेको छ । अब करिब १५ करोड रुपैयाँ लागतको नयाँ आयोजना अघि बढाउने तयारी छ । त्यसमा समुदायको पनि योगदान आवश्यक हुन्छ,” उहाँ भन्नुहुन्छ ।

बस्नेतका अनुसार दीर्घकालीन रूपमा मेलम्चीको पानी नियमित रूपमा उपलब्ध हुने निश्चितता अझै छैन । त्यसैले स्थानीय स्रोतको वैज्ञानिक र दिगो व्यवस्थापन अपरिहार्य बनेको छ ।

“हामीले नयाँ स्रोतको दिगो उपयोगका लागि विस्तृत परियोजना प्रतिवेदन (DPR) तयार गर्न अनुरोध गरेका छौँ । अहिले प्रयोग भइरहेको स्रोत सीमित छ र भविष्यमा सुक्न पनि सक्छ । त्यसैले दीर्घकालीन तयारी आजैदेखि सुरु गर्नुपर्छ,” उहाँ जोड दिनुहुन्छ ।

समुदायको पहलले दिएको सन्देश

चाङ्गाथलीको अनुभव एउटा वडाको सफलताको कथा मात्र होइन, समुदायमा आधारित सुरक्षित खानेपानी व्यवस्थापनको प्रभावकारी नमुना पनि हो । स्थानीय नेतृत्व, नागरिकको सक्रिय सहभागिता, प्राविधिक सहकार्य र समुदायको स्वामित्व एकसाथ आउँदा सुरक्षित तथा दिगो खानेपानी सेवा सम्भव हुन्छ भन्ने सन्देश यसले दिएको छ ।

वर्षौँसम्म पानीको अभाव र गुणस्तरसम्बन्धी समस्यासँग संघर्ष गरेको चाङ्गाथली आज सुरक्षित खानेपानीमा पहुँच विस्तार गर्दै गएको समुदायका रूपमा चिनिन थालेको छ । यहाँको परिवर्तन कुनै एउटा प्रविधिको उपलब्धि मात्र होइन, स्थानीय समुदायको पहल, विभिन्न निकायबीचको सहकार्य र दीर्घकालीन प्रतिबद्धताको संयुक्त परिणाम हो ।

यस्ता अभ्यासलाई स्थानीय आवश्यकता र स्रोतसँग जोडेर अन्य समुदायमा पनि विस्तार गर्न सकियो भने सुरक्षित खानेपानीमा दिगो पहुँच सुनिश्चित गर्ने दिशामा यो एउटा प्रभावकारी मोडल बन्न सक्छ ।

https://washkhabar.com/np/2026/07/07/50942